नियम ६५
मुद्दाहेर्न नरोकिने
(१) दैनिक मुद्दा पेशी सूचीमा चढेको कुनै मुद्दा कुनै कारणले सूचीबाट हटाइने छैन र इजलासबाट खोजेका बखत पक्ष, वारिस वा कानून व्यवसायी हाजिर नभए पनि मुद्दा स्थगित हुने छैन र ठहरे बमोजिम फैसला हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाको सुनुवाई प्रारम्भ हुनुभन्दा पहिले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कुनै मनासिब कारण देखिई मुद्दाको पक्ष वा कानून व्यवसायीले निवेदनपत्र दिएमा अदालतले बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाई स्थगित गर्न सक्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजलासबाट प्राथमिकता दिई हेर्ने आदेश भएका मुद्दा, कसूर ठहर भै सजाय निर्धारण पेशीमा चढेको मुद्दा, एकै पक्षको एकभन्दा बढी कानून व्यवसायी रहेको मुद्दा, हेर्दा हेदैंको मुद्दा, अन्तरिम आदेश जारी भएको मुद्दा, दुई पटक पेशी स्थगित भइसकेको मुद्दा “सम्बन्धित मार्गसमूहको लागि तोकिएको फैसला गर्नुपर्ने समयावधि

ङ नाघ्न सक्ने अवस्थाको मुद्दा र प्रचलित कानूनबमोजिम मुद्दा फैसला गर्नु पर्ने समयावधि नाघेका मुद्दाको सुनुवाई स्थगित हुन सक्ने छैन ।

(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि काबुभन्दा बाहिरको परिस्थिति परी मुद्दा स्थगित गरिपाउँ भन्ने निवेदनपत्र मुद्दा पेस भएका दिनको इजलास बस्नुभन्दा अगाडि नै दर्ता गरी मिसिल सामेल राखिएको हुनु पर्नेछ ।

(५) आफ्नो पक्षमा अन्तरिम आदेश जारी भएको मुद्दाको पक्ष वा निजको कानून व्यवसायीले मुद्दाको सुनुवाईको लागि तोकिएको पेशी स्थगित गराउन निवेदन दिएमा इजलासले अन्तरिम आदेश निष्कृय गरी पेशी स्थगित गर्न सक्नेछ।

तर पक्षको प्रतिनिधित्व गर्ने कानून व्यवसायीको अस्वस्थ्यताका कारणले अस्पतालमा भर्ना भएको वा बहस गर्न उपस्थित हुन नसक्ने विशेष पारिवारिक परिस्थिति परेको भरपर्दो आधार देखाई पेशी स्थगित गर्न माग गरेको अवस्थामा अन्तरिम आदेश निष्कृय हुने छैन ।